तिखेर यस वर्षको नोबेल पुरस्कार घोषणा हुने क्रम चलिरहेको छ। यसै साता अधिकांश विधाका विजेता को हुन् भनेर थाहा भइसक्ने छ। नोबेल शान्ति पुरस्कार “देशहरूबीच भाइचारा प्रवर्धन गर्न, सैन्य तनाव हटाउन वा घटाउन र (द्वन्द्व निवारण गर्ने उद्देश्यले) शान्ति भेला गर्ने वा त्यसलाई प्रवर्धन गर्ने” व्यक्तिलाई प्रदान गरिन्छ। नोबेल पुरस्कारलाई किन निकै प्रतिष्ठित मानिन्छ? अनि विगतका केही विजेताहरू कस्ता छन्? विगत १२ महिनामा “मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका” व्यक्तिलाई ती पुरस्कारबाट सम्मानित गरिन्छ। स्वीडिश व्यापारी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले यी पुरस्कारहरू स्थापना गरेका थिए। उनले आफ्नो अधिकांश सम्पत्ति पुरस्कार दिने उद्देश्यले कोष स्थापना गरी त्यसमा राखेका थिए।

सन् १९६८ मा स्वीडनको केन्द्रीय ब्याङ्कले अर्थशास्त्रका लागि छुट्टै पुरस्कारको स्थापना गरेको थियो।  Nobelpeace.org का अनुसार सन् १९०१ र सन् २०२२ बीचमा नोबेल पुरस्कार र अल्फ्रेड नोबेलको सम्झनामा स्वीडनको केन्द्रीय ब्याङ्कले दिने पुरस्कार गरेर ६१५ पटक कुल ९८९ व्यक्ति र संस्थाहरूलाई प्रदान गरिएको छ।  केहीले एकभन्दा बढी पटक नोबेल पुरस्कार पाएका छन्। त्यस हिसाबमा कुल ९५४ व्यक्ति र २७ संस्थाले नोबेल पुरस्कार पाएका छन्।  सन् २०२२ सम्म ६३ पटक नोबेल पुरस्कार महिलाहरूले पाएका छन्।  फ्रान्सकी मरी क्युरी दुई पटक यो पुरस्कार पाउने एकमात्र महिला वैज्ञानिक हुन्। उनले सन् १९०३ मा भौतिकशास्त्र र सन् १९११ मा रसायनशास्त्रका लागि यस पुरस्कार जितेकी थिइन्।  त्यसको अर्थ सन् २०२२ सम्म नोबेल पुरस्कार पाउने महिलाको कुल सङ्ख्या ६२ थियो।

नोबेल फाउन्डेशनको नियमानुसार ५० वर्षसम्म अन्तिम छनोट सूची प्रकाशित गरिँदैन। कसैले आफैँलाई मनोनयन गर्न पाउँदैन। पुरस्कार विजेतालाई लरेट भनिन्छ। उक्त शब्दले प्राचीन ग्रीसमा कुनै प्रतियोगितका विजेताहरूलाई दिइने प्रतिष्ठित पुष्पहारको सङ्केत गर्छ। भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्टकहोम, स्वीडनमा प्रदान गरिन्छ। नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ। त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँचसदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ।

विजेताहरूले के पाउँछन् त?

प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले निम्नलिखित कुरा पाउँछन् –

• एउटा नोबेल डिप्लोमा, प्रत्येकमा मौलिक कला हुन्छ

• एउटा नोबेल पदक, जसका बेग्लाबेग्लै ढाँचा हुन्छन्

• नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोना (९,९०,००० अमेरिकी डलर)। यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम उनीहरूबीच भाग लगाइन्छ। उक्त रकम पाउनका लागि उनीहरूले एउटा मन्तव्य दिनुपर्छ।

नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *