२४ असार, काठमाडौं :  नेपालको चीनतर्फको मुख्य व्यापारिक नाका रसुवागढीबाट हुने व्यापार पूर्णरूपमा टुटेको छ । रसुवामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको मात्र २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।  भयानक क्षतिका कारण यहाँबाट हुने व्यापार समेत अनिश्चित बनेको छ । चीनतर्फबाट रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएसँगै सडक सम्पर्क पूर्णरूपमा टुटेको छ ।  चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (जेठ महिना) सम्म रसुवागढी नाकाबाट ८० अर्ब ९१ करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । १ अर्ब ९६ करोड १४ लाख बराबरको वस्तु निर्यात भएको छ । चीनतर्फको अर्को नाका तातोपानीबाट यो अवधिसम्म ४६ अर्ब ८९ करोडको आयात भएको छ ।  चीनतर्फ हवाईमार्गबाट हुनेबाहेक व्यापार यी दुई नाकाबाट हुने गरेको छ । मंगलबार बिहान आएको विनाशकारी बाढीले यस नाकाको मितेरी पुल नै बगाएसँग अब रसुवागढीबाट तत्काल आयात–निर्यात हुने छैन ।  अर्कातर्फ, स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको छ ।रसुवा भन्सार कार्यालय यार्डमा क्षति पुगेको छ । ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा समेत क्षति पुगेको छ । १८ नागरिक वेपत्ता छन् । सुरक्षा निकायले ५५ जनाको उद्धार गरेको छ ।

व्यवसायी रमेश बरालका अनुसार रसुवा बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा रहेका कन्टेनर तथा ट्रकहरू बगाउँदा करोडौं क्षति भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेको यार्ड र सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि राखिएका केही थान मालवाहक ट्रक/कन्टेनर र विद्युतीय सवारीसाधन समेत बगाएको पाइएको छ । क्षति आकलनको काम भने अझै पनि जारी छ । आयात निर्यातका व्यापारिक मालसामान मात्रै करिब ५ अर्बको क्षति भएको प्रारम्भिक अनुमान छ । तर, बाढीग्रस्त क्षेत्रमा कति गाडी थिए, कति बगे भन्ने यकिन तथ्यांक आउन सकेको छैन । त्यसैले यति नै क्षति पुग्यो भन्न सकिन्न । यो बाढीले पुल र सडक समेत बगाएका कारण चीनतर्फको व्यापार धेरै समय प्रभावित हुने उनले बताए । ‘अब दसैंका लागि सामान आयात हुने बेला हो । त्यसो हुँदा रसुवागढी नाकाबाट हुने आयात निर्यात निकै महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘यस्तो महत्त्वपूर्ण समयमा आएको बाढीका कारण चीनसँगको व्यापारमा निकै ठूलो क्षति हुने देखिन्छ ।’ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट बाढीले बगाएको छ । सोही परियोजनाको पुलमा पनि क्षति पुगेको छ । पुल चर्केका कारण आवतजावत बन्द छ । आयोजनाको टेलरेसमा भौतिक क्षति नभए पनि गेग्रान थुप्रिएको छ । यसको पावरहाउसमा भने क्षति नभएको उनले बताए ।

Similar Posts