काठमाडौं –सामाजिक सञ्जालमा प्रतिबन्ध र बढ्दो भ्रष्टाचारको विरोधमा नयाँ बानेश्वरमा जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको छ। प्रदर्शन नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएपछि प्रहरीले गोली प्रहार गरेको पुष्टि भएको छ। प्रदर्शनकारीहरूले संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
प्रहरीले सु रुवातीमा आश्रु ग्यास र पानीको फोहोरा प्रयोग गरेर प्रदर्शन रोक्ने प्रयास गरेको थियो। तर, स्थिति नियन्त्रणबाहिर जाँदा प्रहरीले गोली चलाएको र केही युवाहरु घाइते भएको बताइएको छ। घाइतेको उपचार नजिकैका अस्पतालमा भइरहेको छ।

प्रदर्शनकारीहरुले सामाजिक सञ्जाल प्रतिबन्ध फिर्ता लिनु पर्ने र भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्नुपर्ने माग राखेका छन्। घटनास्थल वरिपरि अहिले पनि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ। मानवअधिकारकर्मी र विभिन्न नागरिक समाजका अगुवाहरुले प्रहरीको गोली प्रहारलाई गैरआवश्यक बल प्रयोग भन्दै विरोध गरेका छन्।
सरकारले भने ‘स्थिति नियन्त्रण बाहिर गएपछि आवश्यक कदम चालिएको’ दाबी गरेको छ। यो घटनाले आन्दोलनलाई अझ चर्काउने संकेत देखिएको छ।
