काठमाडौं उपत्यकासहित देशभर चलेको ZEN Z आन्दोलन का क्रममा ज्यान गुमाएका मृतकहरूको शवयात्रा आज विभिन्न ठाउँमा शोकाकुल माहोलबीच सम्पन्न गरिएको छ। परिवारजन, आफन्त, आन्दोलनकारी तथा आम नागरिकको बाक्लो उपस्थितिमा शवयात्रा गरिँदा वातावरण शोकपूर्ण मात्र नभई आक्रोशपूर्ण समेत बनेको देखियो।
शवयात्रामा सहभागी जनसागरले “हामी न्याय चाहन्छौं”, “रगतको मूल्य चुकाइनेछ” भन्ने नारासहित सरकारप्रति कडा आक्रोश पोखेका थिए। कालो झण्डा बोकेर, माला फूलसहितको भीडले सडक भरिएको थियो। मृतकहरूको सम्मानमा केही क्षण मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। शवयात्रामा विद्यार्थी, मानवअधिकारकर्मी, सामाजिक अगुवा र स्थानीय बासिन्दासमेत एकताबद्ध भएर उत्रिएका थिए।
सडकमा देखिएको विशाल जनसागरले आन्दोलन अझ तीव्र बन्ने संकेत दिएको छ। शवयात्रापछि परिवार र आन्दोलनकारीले मृतकलाई “शहीद” घोषणा गर्नुपर्ने मागसहित दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारलाई चेतावनी दिएका छन्।
