बर्दियामा चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु भएको छ। जिल्लाको राजापुर क्षेत्रमा चितुवाको आक्रमणमा परी बालिकाको ज्यान गएको घटनाले स्थानीय बासिन्दामा त्रास फैलिएको छ। प्राप्त प्रारम्भिक समाचारअनुसार बालिकामाथि चितुवाले आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको हो।
घटनापछि स्थानीय बासिन्दाले बस्ती आसपास वन्यजन्तुको आवतजावत बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार बालिकाको घाँटीसहित शरीरका विभिन्न संवेदनशील भागमा गम्भीर चोट लागेको थियो। घटनास्थलमै मृत्यु भएकी उनको शव परीक्षणका लागि राजापुर नगर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
मानव बस्ती नजिकै वन्यजन्तुको जोखिम बढ्दै गएपछि बालबालिका तथा स्थानीय नागरिकको सुरक्षालाई लिएर प्रश्न उठेको छ। विशेषगरी बिहान, साँझ र रातिको समयमा घरबाहिर निस्कँदा थप सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।
सोमबार साँझ करिब ६ः१५ बजे भएको उक्त घटनापछि परिवारका सदस्यले बालिका हराएको थाहा पाएर खोजी सुरु गरेका थिए। खोजीका क्रममा घरदेखि करिब ३०० मिटर पश्चिम–दक्षिणतर्फ रहेको सिमलको झ्याङमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
