सरकारले भोटेकोशी बाढीबाट प्रभावित तथा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन संरक्षण, पालनपोषण र स्याहारका लागि मासिक आर्थिक सहायता कार्यक्रम सुरु गरेको छ। कार्यक्रमअन्तर्गत प्रभावित बालबालिकाले १८ वर्ष उमेर पूरा नगर्दासम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता पाउने भएका छन्। सरकारले रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट बिहीबार उक्त कार्यक्रमको सुरुवात गरेको हो। बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी महिला र उनकी नवजात छोरीलाई पहिलो चरणको सहायता उपलब्ध गराउँदै कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक खातामा पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ जम्मा गरेर सहयोग हस्तान्तरण गरेकी हुन्। योजनाअनुसार ती नवजात बालिकाले १८ वर्ष पूरा नगरेसम्म आमासँगै परिवारमा रहेर मासिक उक्त रकम प्राप्त गर्नेछिन्।
राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआइटीजीएफको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती र सुत्केरी महिलालाई लक्षित गरी विशेष सहायता कार्यक्रम सञ्चालन गरिएको हो। मध्यम तथा न्यून जोखिममा रहेका बालबालिकालाई एमआइटीजीएफ, एसओएस चिल्ड्रेन भिलेजलगायत साझेदार संस्थाको सहकार्यमा संरक्षण तथा स्याहार सेवा उपलब्ध गराइनेछ।
परिषद्का सदस्यसचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा पाँच टोली बाढी प्रभावित क्षेत्रमा परिचालित छन्। ती टोलीले प्रभावित बालबालिकाको अवस्था पहिचान, जोखिम मूल्याङ्कन तथा दीर्घकालीन स्याहार योजना निर्माण गरिरहेका छन्।
मन्त्री वादीका अनुसार विभिन्न साझेदार संस्थामार्फत हालसम्म ८१० जना बालबालिकाको दीर्घकालीन स्याहारका लागि सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। जसअनुसार एमआइटीजीएफमार्फत १५०, एसओएस चिल्ड्रेन भिलेजमार्फत ६५० र प्रविना फाउन्डेसनमार्फत १० जना बालबालिकालाई सहयोग गरिनेछ।
सरकारका अनुसार बाढीमा आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका तथा विशेष संरक्षणको आवश्यकता रहेका अन्य बालबालिकालाई पनि दीर्घकालीन संरक्षण र भरणपोषणको व्यवस्था गरिनेछ। विपद्का कारण जोखिममा परेका बालबालिकालाई परिवारबाट अलग नगरी सुरक्षित वातावरणमा हुर्काउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। मन्त्री वादीले बालबालिकाको संरक्षणका नाममा कुनै पनि व्यक्ति वा संस्थाले आफूखुसी अन्यत्र लैजान नपाउने स्पष्ट पारेकी छन्। स्थानीय तहको सिफारिस तथा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय र सहमतिबिना बालबालिकालाई बालगृह वा अस्थायी संरक्षण केन्द्रमा लैजान नपाइने उनको भनाइ छ।
सरकारले बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकतामा राखेर उद्धार, संरक्षण तथा पुनःस्थापनाका काम अघि बढाउने जनाएको छ। उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास र मनोसामाजिक अवस्थालाई समेत ध्यानमा राखेर सहायता कार्यक्रम सञ्चालन गरिनेछ।
मन्त्रालयको बालकोषमा सात करोड रुपैयाँ रहेको छ भने बाढी प्रभावित बालबालिकाको संरक्षण तथा स्याहारका लागि एमआइटीजीएफ र नेपाल सरकारबीच ५८ करोड रुपैयाँ बराबरको सम्झौता भइसकेको मन्त्री वादीले जानकारी दिएकी छन्।
बाढीका कारण अभिभावक गुमाएका तथा जोखिममा परेका बालबालिकालाई तत्कालीन राहतमा मात्र सीमित नराखी दीर्घकालीन संरक्षण, शिक्षा, स्वास्थ्य र सुरक्षित भविष्य सुनिश्चित गर्ने सरकारको लक्ष्य छ। प्रभावकारी कार्यान्वयन हुन सके यस कार्यक्रमले विपद्बाट प्रभावित बालबालिकाको जीवनयापन र भविष्य निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
