यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले युक्रेन युद्ध अन्त्य गर्न र उक्त युद्धग्रस्त देशलाई रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना घोषणा गरेको छ।”हामी आज इतिहासको दोबाटोमा छौँ,” युरोपका १८ देशका नेताहरू सहभागी सम्मेलनपछि स्टार्मरले भने। उक्त सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी भएका थिए। सम्मेलनपछि युक्रेनले “बलियो साथ” पाएको महसुस गरेको र “लामो समयदेखि नदेखिएको उच्च स्तरको युरोपेली एकता” देखिएको जेलेन्स्कीले बताए।

सम्मेलनपछि पत्रकार सम्मेलनमा यूकेका प्रधानमन्त्री स्टार्मरले चारबुँदे सहमति भएको बताएको छ।

  • युक्रेनमा सैन्य सहायताको आपूर्ति जारी राख्ने र रुसमाथि आर्थिक दबाव कायमै राख्ने
  • दिगो शान्ति कायम गर्दा युक्रेनको सार्वभौमसत्ता तथा सुरक्षा सुनिश्चित गर्ने र युक्रेनलाई सबै शान्ति वार्तामा उपस्थित गराउने
  • शान्ति सम्झौता भएको अवस्थामा भविष्यमा युक्रेनमाथि हुनसक्ने कुनै पनि आक्रमणलाई रोक्न उसको रक्षा क्षमता बढाउने
  • युक्रेनबारे सम्झौताको पक्ष लिन र त्यसपछि शान्तिको सुनिश्चितता गर्न “इच्छुकहरूको गठबन्धन” विकास गर्न

स्टार्मरले थप १.६ अर्ब पाउन्ड सहयोगको घोषणा पनि गरेको छ। यूकेको निर्यातबाट आर्जित रकमबाट दिइने उक्त सहयोग युक्रेनले हवाई प्रतिरक्षा क्षेप्यास्त्र खरिदमा खर्च गर्ने छ। यो सहयोग यसअघि घोषणा गरिएको २.२६ अर्ब पाउन्ड स्टर्लिङको ऋण सहमतिभन्दा फरक हो। यसअघि स्टार्मरले रोक्का गरिएका रुसी सम्पत्तिको नाफाबाट युक्रेनी सैन्य सामग्रीका उक्त ऋण दिने घोषणा गरेका थिए।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *