मेवा क्यारिकेसी परिवारमा पर्ने एक प्रकारको फल हो। अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ। यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ। यो बजारमा सहज रूपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे । मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ।  भिटामिन सी, ए, पोटासियम तथा क्याल्सियम र आइरनले भरिपूर्ण मेवा स्वास्थ्यका लागि निकै फाइदाजनक छ । मेवाले पेट, मुटु र कलेजोको रोग र आन्द्राको कमजोरी हटाउनमा सहयोगी हुन्छ । गुणको खानी भनिने मेवा तपाईंको पेटका साथै तपाईंको छालाको सुन्दरता बढाउन पनि सहयोग गर्दछ । यो एउटा यस्तो फल हो जसमा भिटामिन सी, ए, पोटासियम, क्याल्सियम र आइरन प्रचुर मात्रामा पाइन्छन् । यसका साथै स्वास्थ्यका लागि हितकारी पनि मानिन्छ । 

 मेवा खानुका फाइदाहरू

१.आँखाको लागि फाइदाजनकः

मेवा आँखाका रोगीहरुका लागि निकै फाइदाजनक मानिन्छ । यसमा प्रचुर मात्रामा भिटामिन ए पाइने भएकाले आँखाको ज्योती कम हुनबाट जोगाउँछ । यसको सेवनले रतन्धो रोगको निवारण हुन्छ र आँखाको ज्योती बढ्ने गर्दछ ।

२. महिनावारीको पीडाबाट छुटकाराः

मेवामा पेपेन नामक एन्जाइमले महिनावारीको क्रममा रक्त प्रवाहलाई ठिक गरेर पीडा कम गर्न मद्दत गर्दछ । त्यसकारण महिनावारीको पीडाबाट गुज्रिरहेका महिलाले आफ्नो आहारमा मेवालाई समावेश गर्नुपर्छ ।

३.मधुमेह रोगीका लागि फाइदाजनकः

स्वादमा गुलियो भएता पनि यसमा सुगर नाममात्रको हुने गर्दछ त्यसकारण मेवा मधुमेह रोगीका लागि राम्रो आहारको रुपमा एक उत्कृष्ट विकल्प हो । यसका साथै, जो मधुमेह रोगी छैनन्, यसको सेवनले मधुमेहको खतरा टाल्न सक्छ ।

४. तनाव कम गर्छः

यो उत्कृष्ट फलमा तनाव कम गर्ने ताकत पनि हुन्छ । युनिभर्सिटी अफ अल्बामामा भएको एक अध्ययनका अनुसार लगभग २ सय मिलिग्राम भिटामिन सी स्ट्रेस हर्मोनलाई संचालित गर्नमा सक्षम हुन्छ र मेवामा भिटामिन सी प्रचुर मात्रामा पाइने गर्दछ ।

५. बुढ्यौली रोक्छः

हामी सबैजना सधैं जवान रहन चाहन्छौं, तर कोही पनि यसमा सफल भने हुन सक्दैनौं । तरपनि, स्वास्थ्यबद्र्धक बानी र मेवालाई आफ्नो आहारमा समावेश गरेर तपाईंले आफ्नो उमेरलाई कम गर्न सक्नुहुन्छ । मेवामा भिटामिन सी, भिटामिन इ र बीटा क्यारोटिन, एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुन्छ जसले शरिरको पोषणको आवश्यकता पूरा गरेर तपाईंलाई वर्षौंसम्म जवान बनाइराख्छ ।

६. तौल घटाउन सहयोगीः

गुलियो भएता पनि क्यालोरीमा कम मेवालाई तौल कम गर्न चाहना राख्नेहरुले आफ्नो खानामा समावेश गर्नुपर्छ । यसका साथै मेवामा पाइने फाइबरले तपाईंको भोकलाई मेटाउने गर्दछ भने आन्द्राको कार्यलाई ठिक स्थानमा राख्दछ । फलस्वरुपः तौल घटाउन सजिलो हुने गर्दछ ।

७.  कोलेस्ट्रोल कम गर्दछः

मेवामा फाइबर, भिटामिन सी र एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले तपाईंको रक्त कोसिकामा कोलेस्ट्रोलको ढिक्का बन्नबाट जोगाउँछ । कोलेस्ट्रोलको ढिक्का हृदयघात र उच्च रक्तचापसमेत विभिन्न हृदय रोगको कारण बन्न सक्छ ।

८. जोर्नी दुखाईबाट बचाउः

जोर्नी दुखाइले शरिरलाई दुर्बल बनाउनुका साथै तपाईंको जीवनशैलीलाई पनि नराम्रोसँग प्रभावित गर्ने गर्दछ । यसमा भिटामिन सीका साथै एन्टि इन्फ्लामेटरी गुण हुने भएकाले मेवा खानु तपाईंको हड्डीका लागि प्रभावकारी मानिन्छ । एक अध्ययन अनुसार भिटामिन सीयुक्त खानेकुराको सेवन नगर्नेहरुमा जोर्नी दुखाईको खतरा भिटामिन सीको सेवन गर्नेहरुभन्दा लगभग तीन गुणा बढि हुन्छ ।

९.  पाचन क्रियालाई बलियो बनाउँछः

मेवामा फाइबरका साथै पपेन नामक एक एन्जाइम हुन्छ जसले तपाईंको पाचन शक्तिलाई बलियो बनाउँछ । यो एन्जाइम आहारलाई पचाउनमा निकै सहयोगी हुन्छ । जसलाई पेटसम्बन्धि समस्या छ जस्तै कब्जियत छ भने उनीहरुले मेवाको सेवन नियमित रुपमा गर्नुपर्छ ।

१०. प्रतिरोधी क्षमतालाई बलियो बनाउँछः

तपाईंको प्रतिरोधी क्षमता विभिन्न संक्रमणविरुद्ध ढालको रुपमा काम गर्ने गर्दछ । एउटा मेवामा मात्र यति भिटामिन हुन्छ जुन तपाईंको प्रतिदिनको भिटामिन सीको आवश्यकताको लगभग २ सय प्रतिशत हुने गर्दछ । यसरी यसले तपाईंको प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने गर्दछ ।

११.  क्यान्सरलाई रोक्न प्रभावकारीः

केही अध्ययनका अनुसार मेवाको सेवनले कोलन र प्रोजेक्ट क्यान्सरको खतरालाई कम गर्न सकिन्छ । मेवामा एन्टी–अक्सिडेन्ट, फिटोन्यूट्रियन्ट्स र फ्लेवोनायड्स प्रचुर मात्रामा हुन्छन् । यसका साथै, यसमा पाइने भिटामिन सी, बीटा क्यारोटिन र भिटामिन इले शरिरमा क्यान्सरको सेल बन्नबाट रोक्छ त्यसकारण आफ्नो आहारमा मेवा समावेश गर्नुहोस् ।

Similar Posts