काठमाडौं । देशभर “व्यक्तिगत घटना दर्ता सप्ताह २०८३” औपचारिक रूपमा सुरु गरिएको छ। स्थानीय तहहरू मार्फत सञ्चालन भइरहेको यस अभियानको उद्देश्य जन्म, मृत्यु, विवाह, बसाइँसराइ तथा सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटनाहरू समयमै दर्ता गराउने रहेको छ।
सरकारले प्रत्येक नागरिकको कानुनी पहिचान सुनिश्चित गर्न तथा तथ्यांकलाई व्यवस्थित बनाउन यस्तो सप्ताह आयोजना गर्दै आएको छ। अभियान अवधिभर स्थानीय तहका वडा कार्यालयहरूले घरदैलो कार्यक्रम, सचेतना अभियान तथा निःशुल्क वा सहज सेवा प्रदान गर्दै नागरिकलाई दर्ता प्रक्रियामा सहभागी गराउने योजना बनाएका छन्।
सम्बन्धित निकायका अनुसार अझै पनि धेरै नागरिकले समयमै घटना दर्ता नगर्ने समस्या देखिएको छ। जसका कारण नागरिकले विभिन्न सरकारी सेवा, सामाजिक सुरक्षा भत्ता, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच पाउन कठिनाइ भोग्दै आएका छन्। त्यसैले यस सप्ताहलाई अवसरका रूपमा उपयोग गर्दै सबैलाई आफ्नो तथा परिवारका सदस्यहरूको घटना दर्ता गर्न आग्रह गरिएको छ।
स्थानीय तहहरूले विद्यालय, स्वास्थ्य संस्था तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै अभियानलाई प्रभावकारी बनाउने बताएका छन्। साथै, दुर्गम क्षेत्रमा रहेका नागरिकसम्म सेवा पुर्याउन घुम्ती सेवा समेत सञ्चालन गरिने जनाइएको छ।
सरकारले “सबैको पहिचान, सबैको अधिकार” भन्ने नारासहित सञ्चालन गरिएको यस कार्यक्रमले नागरिक दर्ता प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
