न्यूयोर्क : प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासचिव गुटेरेससँग भेटवार्ता गरेका हुन्। नेपाल सरकारको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता हुने औपचारिक कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो।
भेटवार्तामा नेपालका समसामयिक विषय, जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असर तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री शाहको यसपटकको संयुक्त राष्ट्रसंघ भ्रमणमा जलवायु न्याय प्रमुख विषयका रूपमा अघि सारिएको छ। विशेषगरी पछिल्लो समय नेपालमा भएका विपद्का घटनालाई जलवायु परिवर्तनसँग जोड्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने नेपालको तयारी छ।
प्रधानमन्त्री शाहले ८१औँ संयुक्त राष्ट्रसंघ महासभाको General Debate मा सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रमअनुसार न्यूयोर्क पुगेका हुन्। उनको सम्बोधनमा जलवायु संकट, नेपालले सामना गरिरहेका विपद्, शान्ति तथा विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वका प्रभावलगायत विषय उठाउने तयारी गरिएको थियो।
भेटवार्तालाई नेपालका प्राथमिकता र जलवायु न्यायका विषय अन्तर्राष्ट्रिय तहमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। प्रधानमन्त्री शाहको नेतृत्वमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्यूयोर्कमा रहेको छ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघका कार्यक्रम सम्पन्न गरी सेप्टेम्बर २६ मा नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
