गत स्थानीय तह निर्वाचनमा काठमाण्डू महानगरपालिका, धरान, जनकपुर र धनगढी उपमहानगरपालिकासहित १३ स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए। प्रमुखको पदका लागि उपनिर्वाचन हुन लागेका तीनवटा स्थानीय तहमध्ये धेरैको ध्यान राजधानीको कीर्तिपुर नगरपालिकामा छ। कीर्तिपुरमा प्रमुख राजनीतिक दलहरूका उम्मेदवारसहित २० जनाले प्रतिस्पर्धा गर्दै छन्। तीमध्ये स्वतन्त्र उम्मेदवारको सङ्ख्या ११ छ। मोरङको ग्रामथान गाउँपालिका प्रमुखको पदका लागि १६ जनाले उम्मेदवारी दिएका छन्।
केही स्थानीय निकायमा पद रिक्त भएपछि अहिले हुन लागेको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरूको सङ्ख्या उल्लेख्य देखिएको छ। निर्वाचन आयोगले मङ्सिर १६ गते तीनवटा स्थानीय तहमा प्रमुखसहित स्थानीय तहका ४१ पदमा उपनिर्वाचन गराउन लागेको छ। आयोगका अनुसार ती पदका लागि ३७६ जनाले उम्मेदवारी दिएका छन्। कुल २० वटा राजनीतिक दलका उम्मेदवारबाहेक आइतवार हुने उपनिर्वाचनमा १०२ स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। मङ्सिर १५ गतेसम्म १८ वर्ष उमेर पूरा हुने एक करोड ८१ लाख २८ हजार मतदातामध्ये उपनिर्वाचनमा मतदानका लागि दुई लाख २६,००० जना मतदानका लागि योग्य रहेको निर्वाचन आयोगले जनाएको छ।
यो पालिका प्रमुख बन्ने प्रतिस्पर्धामा भएकामध्ये एक जना मात्र कुनै दलबाट नउठेका स्वतन्त्र उम्मेदवार छन्। स्थानीय तह प्रमुखका लागि चुनाव हुन लागेको दैलेखको महाबु गाउँपालिकामा भने स्वतन्त्र उम्मेदवार छैनन्। यो पालिकाको प्रमुख बन्न सात राजनीतिक दलबाट सात जना अघि सरेका छन्। स्थानीय तह उपनिर्वाचनमा धेरैजसो स्वतन्त्र उम्मेदवारहरूले वडाध्यक्ष पद ताकेका छन्। धरान उपमहानगरका स्वतन्त्र मेअर हर्क साम्पाङ कीर्तिपुर नगरपालिकामा एक स्वतन्त्र उम्मेदवारको चुनावी प्रचारमा सहभागी भएका थिए। काठमाण्डू महानगरपालिकाका मेअर बालेन्द्र शाह, जनकपुरका मेअर मनोजकुमार शाह र धनगढीका मेअर गोपी हमालसहित स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका अरू चर्चित मेअरहरू भने कुनै पनि उम्मेदवारको पक्षमा खुलेका देखिँदैनन्।