दक्षिण कोरियामा प्रत्येक वर्ष नोभेम्बरमा कलेजमा भर्ना हुन लिइने प्रवेशपरीक्षा हुन्छ। निकै लामो र कठिन भएकाले कुख्याति कमाएको उक्त परीक्षाका बेला दक्षिण कोरिया ठप्पप्राय: हुन्छ। परीक्षा हुने दिन पसलहरू बन्द रहन्छन्, आवाज कम होस् भनेर उडानहरू ढिलो गरिन्छन् अनि विद्यार्थीहरूलाई सहज होस् भनेर बिहानीपख चहलपहल पनि कम हुन्छ। दिन ढल्दै गरेपछि अधिकांश परीक्षार्थीहरू राहतको सास फेर्दै स्कूल गेटबाट बाहिरिन्छन् र बाहिर कुरेर बसेका आफन्त र अभिभावकलाई अङ्कमाल गर्छन्। तर सबैले त्यही समयमा परीक्षा सिध्याउन सक्दैनन्। अँध्यारो भएर रात परेपछि पनि केही विद्यार्थीहरू परीक्षा कोठामै हुन्छन् – राति १० बजेतिर बल्ल उनीहरूको जाँच सकिन्छ। उनीहरू नेत्रहीन विद्यार्थी हुन् जसले ‘सुनुङ’ भनिने उक्त परीक्षाको लामो संस्करणअन्तर्गत १२ घण्टाभन्दा लामो समय परीक्षा दिन्छन्।

बिहीवार ५.५० लाखभन्दा धेरै विद्यार्थी सुनुङ – कलेज स्कोलास्टिक एबिलिटी टेस्ट (सीएसएटी) – परीक्षामा सहभागी भए। सात वर्षयताकै यो सबभन्दा धेरै परीक्षार्थी सङ्ख्या हो। यो परीक्षाले विद्यार्थीको विश्वविद्यालयमा जान पाउने सम्भावना मात्र नभई तिनको रोजगारी, आम्दानी, तथा भविष्यको सम्बन्ध पनि निर्धारण गर्छ। छनोट गरेको विषयका आधारमा विद्यार्थीहरूले कोरियाली भाषा, गणित, अङ्ग्रेजी, सामाजिक वा प्राकृतिक विज्ञान तथा अतिरिक्त विदेशी भाषा, र हान्जा (कोरियनमा प्रयोग हुने शास्त्रीय चिनियाँ लिपि) अन्तर्गत झन्डै २०० वटा प्रश्नको उत्तर दिनुपर्छ। अधिकांश विद्यार्थीका निम्ति यो भनेको विश्राम नलिई दिइने आठ घण्टा लामो परीक्षा हो। उनीहरू सुनुङ परीक्षा बिहान ८:४० मा सुरु गर्छन् अनि साँझ करिब ५:४० मा सिध्याउँछन्। दृष्टिमा गम्भीर समस्या भएका नेत्रहीन विद्यार्थीहरूलाई १.७ गुना धेरै समय उपलब्ध गराइन्छ।

Similar Posts