बुढानीलकण्ठ, काठमाडौं : पर्यटन प्रवर्द्धन तथा बुढानीलकण्ठ क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले बुढानीलकण्ठ नगरपालिकाले दोस्रो बुढानीलकण्ठ भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।

नगरपालिकाले २०८२/०८/१५ गते प्रकाशित सूचना अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्ति, समूह तथा संस्थाहरूलाई आवेदन पेश गर्न आह्वान गरेको छ। सूचनामा उल्लेख भएअनुसार प्रतियोगितामा सहभागिता जनाउन चाहनेले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।
नगरपालिकाका अनुसार प्रतियोगितामार्फत बुढानीलकण्ठ नगरक्षेत्रभित्र रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको
छ। प्रतियोगितामा सहभागी भिडियो सामग्रीले नगरपालिकाको पर्यटन विकास तथा स्थानीय पहिचानलाई उजागर गर्ने विषयवस्तु समेट्नुपर्ने जनाइएको छ।
प्रतियोगितामा प्राप्त भिडियो सामग्रीको मूल्याङ्कन विशेषज्ञ समितिबाट गरिने र उत्कृष्ट कृतिलाई पुरस्कार तथा सम्मान प्रदान गरिने नगरपालिकाले जनाएको छ। यस कार्यक्रमले स्थानीय प्रतिभाको प्रोत्साहनसँगै नगर क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
बुढानीलकण्ठ नगरपालिका भित्र रहेका धार्मिक सम्पदा, प्राकृतिक सौन्दर्य, सांस्कृतिक परम्परा तथा पर्यटकीय आकर्षणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ।
इच्छुक सहभागीहरूले तोकिएको समयभित्र नगरपालिकामा सम्पर्क गरी विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।
