काठमाडौं, टोखा — टोखा नगरपालिकाको आयोजनामा लोकसेवा आयोगको तयारी कक्षा सञ्चालनका विषयमा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाले स्थानीय युवालाई सार्वजनिक सेवामा प्रवेशका लागि प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ्, प्रमुख प्रशासकिय अधिकृत कमल भट्टराई, वडा अध्यक्षहरू, शिक्षा शाखाका प्रतिनिधि, प्रशिक्षक तथा लोकसेवा तयारीमा संलग्न इच्छुक युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अभिमूखिकरण कार्यक्रममा लोकसेवा आयोगको परीक्षा प्रणाली, पाठ्यक्रम संरचना, तयारी रणनीति, समय व्यवस्थापन र उत्तर लेखनका सीपबारे जानकारी गराइएको थियो।

नगर प्रमुखले कार्यक्रममा बोल्दै युवाको क्षमता अभिवृद्धि गर्दै सरकारी सेवामा प्रतिस्पर्धी बनाउने उद्देश्यले नगरपालिकाले निःशुल्करसहुलियतपूर्ण लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको बताए। “स्थानीय तहबाटै दक्ष जनशक्ति उत्पादन गर्नु हाम्रो प्राथमिकता हो,” उनले भने। शिक्षा शाखाका प्रमुखका अनुसार कक्षा सञ्चालनका लागि अनुभवी प्रशिक्षक, आवश्यक अध्ययन सामग्री र नियमित मूल्यांकनको व्यवस्था गरिनेछ। इच्छुक सहभागीहरूले नगरपालिकामा आवेदन दिएर कक्षामा सहभागी हुन सक्ने व्यवस्था गरिएको जानकारी पनि दिइयो। कार्यक्रमको अन्त्यमा सहभागी युवाहरूले नगरपालिकाको पहलप्रति धन्यवाद व्यक्त गर्दै कक्षा छिट्टै सुरु गर्न माग गरेका थिए। नगरपालिकाले आगामी दिनमा अन्य सीपमूलक तथा करियर मार्गदर्शन कार्यक्रम पनि विस्तार गर्ने जनाएको छ।

 

 

Similar Posts