पाकिस्तानबाट भएको हवाई तथा सीमाक्षेत्रीय आक्रमणप्रति कडा आपत्ति जनाउँदै अफगानिस्तानले ‘उपयुक्त समयमा जवाफ दिने’ चेतावनी दिएको छ। अफगान अन्तरिम सरकारका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि भएको हस्तक्षेप अस्वीकार्य भएको बताएका छन्।पाकिस्तानले गुप्तचर सूचनाका आधारमा अफगानिस्तानसँगको सीमा क्षेत्रमा ‘सातवटा आतङ्कवादी ठेगाना र शिविरहरू’ लाई निशाना बनाएको बताएको छ।
अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार सीमावर्ती क्षेत्रमा भएको आक्रमणमा सर्वसाधारण नागरिक हताहत भएको दाबी गरिएको छ। घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको र घाइतेहरूको उपचार तथा राहत वितरण कार्य तीव्र पारिएको जनाइएको छ। स्थानीय प्रशासनले सीमाक्षेत्रमा थप तनाव नबढाउन नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। अफगानिस्तानको तालिबान सरकारका प्रवक्ताले नान्गारहार र पक्तिकामा पाकिस्तानी हवाई आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ व्यक्तिको मृत्यु भएको बताएका छन्।
उता पाकिस्तानले भने आफ्नो सुरक्षा चासो र आतंकवादी गतिविधि नियन्त्रणका लागि कारबाही गरिएको दाबी गरेको छ। पाकिस्तानी सुरक्षा अधिकारीहरूले सीमापार सक्रिय समूहहरूलाई लक्षित गर्दै कारबाही गरिएको र सर्वसाधारणलाई लक्षित नगरेको स्पष्ट पारेका छन्। तर अफगान पक्षले यस दाबीलाई अस्वीकार गर्दै अन्तर्राष्ट्रिय समुदायसँग घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।
विश्लेषकहरूका अनुसार अफगानिस्तान–पाकिस्तान सीमाक्षेत्र ड्युरान्ड रेखा आसपास लामो समयदेखि विवाद र अविश्वासको केन्द्र बन्दै आएको छ। सीमापार समूहहरूको गतिविधि, आपसी आरोप–प्रत्यारोप र राजनीतिक अस्थिरताले द्विपक्षीय सम्बन्धमा उतारचढाव देखिँदै आएको छ। पछिल्लो घटनाले दुवै देशबीचको कूटनीतिक सम्बन्ध थप तनावग्रस्त बन्ने संकेत दिएको छ।
अफगान सरकारले अन्तर्राष्ट्रिय निकायहरूलाई आफ्नो भूमिमाथि हुने कुनै पनि आक्रमणको विरोध गर्न आह्वान गरेको छ भने पाकिस्तानले क्षेत्रीय शान्ति र सुरक्षाका लागि सहकार्य आवश्यक रहेको बताएको छ। दुवै देशका कूटनीतिक प्रतिनिधिहरूबीच संवादको प्रयास भइरहेको स्रोतले जनाएको छ।
क्षेत्रीय सुरक्षा विश्लेषकहरूले सैन्य विकल्पभन्दा संवाद र कूटनीतिक पहलमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। अन्यथा, बढ्दो तनावले सम्पूर्ण दक्षिण एसियाली क्षेत्रमा अस्थिरता निम्त्याउन सक्ने चेतावनी दिइएको छ। अहिलेका लागि सीमाक्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ भने सम्भावित प्रतिकारात्मक कदमबारे अफगानिस्तानले समयअनुसार निर्णय लिने जनाएको छ।
