हार्दिक श्रद्धाञ्जली
आदरणीय स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली।
जीवनको अमूल्य यात्रा सम्पन्न गरी अनन्त विश्राममा जानुभएकी दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछौं। उहाँको आत्माले चिरशान्ति प्राप्त गरोस् भन्ने कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूमा यस असह्य पीडा सहन गर्ने शक्ति, धैर्य र साहस प्राप्त होस् भन्ने ईश्वरसँग प्रार्थना गर्दछौं।
ॐ शान्ति।
काठमाडौं । पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नेपाल सरकारका उपसचिव शेरबहादुर बिसिलाई मातृशोक परेको छ। उनकी ८० वर्षीया आमाको लामो समयदेखि उपचारका क्रममा सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
स्वर्गीय आमा विगत लामो समयदेखि प्याङ्क्रियाटिक (अग्नाशय) क्यान्सरबाट पीडित थिइन्। उनको चितवन क्यान्सर अस्पतालसहित काठमाडौंका विभिन्न स्वास्थ्य संस्थामा उपचार गरिएको थियो। पछिल्लो समय नेपालगञ्जस्थित अस्पतालमा उपचार भइरहेका बेला सोमबार उनको दुःखद निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार स्वर्गीय आमाको अन्तिम संस्कार मंगलबार बिहान १० बजे कञ्चनपुरस्थित महाकाली नदी किनारमा गरिने कार्यक्रम तय गरिएको छ। हाल पालुङटार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत बिसिले यसअघि करिब ३० महिनासम्म टोखा नगरपालिकामा समेत सेवा दिएका थिए। इमानदार, कर्तव्यनिष्ठ र जनमुखी कर्मचारीका रूपमा परिचित उनी जहाँ रहे पनि जिम्मेवारीप्रति समर्पित भएर काम गर्ने स्वभावका कारण सहकर्मी तथा सेवाग्राहीमाझ सम्मानित मानिन्छन्।
आमाको निधनको खबरले बिसि परिवार, आफन्त, शुभेच्छुक तथा सहकर्मीहरूलाई गहिरो शोकमा डुबाएको छ। विभिन्न व्यक्तित्वहरूले स्वर्गीय आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना व्यक्त गरेका छन्। यस दुःखद घडीमा सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधि तथा शुभेच्छुकहरूले पनि दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।
