काठमाडौं : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा मंगलबार बिहान दुई हेलिकोप्टर आपसमा ठोक्किएर दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। दुर्घटनामा अन्य यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार मंगलबार बिहान करिब ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा संलग्न दुवै हेलिकोप्टरका चालक दलका सदस्यसमेत घाइते भएको विवरण सार्वजनिक भएको छ। उनीहरूको उद्धार गरी उपचारको व्यवस्था गरिएको जनाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार प्रारम्भिक जानकारीमा हेलिकोप्टर अवतरण गर्ने क्रममा पंखा एकआपसमा ठोक्किएको आशंका गरिएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे विस्तृत अनुसन्धान हुन बाँकी छ।
सगरमाथा क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य फेरिचेमा भएको यस दुर्घटनाले हिमाली क्षेत्रमा हुने हवाई उडानको सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठाएको छ।दुर्घटनामा एक विदेशी नागरिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणमा मृतकको पहिचान खुल्न बाँकी रहे पनि पछिल्लो विवरणअनुसार उनी भारतीय नागरिक वसन्त कुमार बालारामुडु रहेको खुलेको छ।
दुर्घटनामा घाइते भएका यात्रुलाई प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि लुक्ला लगिएको थियो। पछिल्लो विवरणअनुसार घाइते यात्रुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
उच्च हिमाली क्षेत्रमा मौसमको तीव्र परिवर्तन, भौगोलिक जटिलता र सीमित अवतरणस्थलका कारण हेलिकोप्टर उडान चुनौतीपूर्ण मानिन्छ। दुर्घटनाबारे सम्बन्धित निकायले थप विवरण संकलन तथा अनुसन्धान गरिरहेको जनाएको छ।
