काठमाडौं । अर्णव चक्रवातपछि अहिले मुरासु चक्रवातको चर्चा बढ्न थालेको छ। चक्रवातको सम्भावित प्रभाव र यसले दक्षिण एसियाली क्षेत्रको मौसममा पार्न सक्ने असरबारे चासो बढिरहेका बेला मौसम अधिकारीहरूले भने नेपालमा यसको प्रत्यक्ष प्रभाव नपर्ने बताएका छन्। चक्रवातको नाम र सम्भावित मार्गलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा चर्चा भइरहेका छन्। यस्तो अवस्थामा चक्रवातको वास्तविक अवस्था, यसको दिशा र तीव्रताबारे आधिकारिक मौसम पूर्वानुमानलाई आधार मान्नुपर्ने मौसमविद्हरूको सुझाव छ। बङ्गालको खाडीमा विकसित मुरासु चक्रवात सोमबारसम्म शक्तिशाली चक्रवाती आँधीमा परिणत हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मुरासु चक्रवात नोभे म्बर ३ अर्थात् कात्तिक १७ गते भारतको आन्ध्र प्रदेशको नेल्लोर र नरसापुरबीचको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छ। चक्रवातका कारण भारतको तटीय क्षेत्रमा वर्षा र तीव्र हावाको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ। तर, हालसम्मको मौसम विश्लेषणअनुसार उक्त प्रणालीले नेपालमा उल्लेखनीय प्रभाव पार्ने सम्भावना देखिएको छैन।
मुरासु चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपर्ने अनुमान गरिए पनि देशको मौसममा अन्य मौसमी प्रणालीको प्रभाव रहन सक्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही स्थानमा बदली, हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। विशेषगरी हिमाली र पहाडी क्षेत्रमा मौसममा सामान्य परिवर्तन देखिन सक्ने अनुमान गरिएको छ। मौसमविद्हरूले चक्रवातको प्रभावबारे अनावश्यक त्रासमा नपर्न र मौसमसम्बन्धी आधिकारिक सूचनालाई आधार मान्न आग्रह गरेका छन्। मुरासु चक्रवातको अवस्थाबारे मौसम पूर्वानुमान महाशाखाले निरन्तर निगरानी गरिरहेको जनाएको छ।
