भारतको दिल्लीमा भएको विस्फोट घटनापछि सुरक्षा निकायहरूले ‘सबै सम्भावनाबारे’ अनुसन्धान सुरु गरेका छन्।भारतको राजधानी दिल्लीको लालकिल्ला नजिक सोमवार राति आठ जनाको ज्यान जाने गरी भएको एउटा कार विस्फोटको घटनामा सबै कोणबाट अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएको छ। विस्फोट भएको कार त्यसअघि कहाँकहाँ पुगेको थियो भन्ने खोजी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। एएनआई समाचारसंस्थाले सार्वजनिक गरेको दृश्यमा झिसमिसेबाटै अनुसन्धानकर्ताहरू घटनास्थलमा पुगेको देखिन्छ।उक्त घटनाको अनुसन्धानमा विभिन्न सुरक्षा निकाय संलग्न भएको छ।
सोमवार रातिदेखि नै दिल्ली र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। यातायातका केन्द्रहरू र मानिसहरू धेरै भेला हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढेको छ। भारतको आर्थिक राजधानीका रूपमा चिनिने मुम्बईमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ। ऐतिहासिक र पुरातात्त्विक महत्त्व भएको लालकिल्लामा दैनिक हजारौँ आन्तरिक र विदेशी पर्यटकहरू घुम्न जान्छन्। उक्त स्थान तीन दिनका लागि बन्द गरिएको छ।
