राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि भण्डारीलाई पदमुक्त गरेको शीतल निवासले जनाएको छ ।रातारात होटलमा मुख्यमन्त्री नियुक्त र शपथ गरेपछि भण्डारीको चौतर्फी विरोध भएको थियो । सरकारले उनको ठाउँमा सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुख नियक्तिका लागि सिफारिस गरेको छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखेर कात्तिक २२ गते प्रदेश सभामा राजीनामा घोषणा गरेपछि प्रदेश  प्रमुख सुमित्रा सुवेदी भण्डारीले सबैभन्दा ठूलो दलको हैसियतमा एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनी विवादमा परेकी थिइन् ।

प्रदेश प्रमुख सुवेदीले महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित पानस होटलमा सोमबार बिहान झिसमिसेमा एमाले नेता  यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएकी थिइन् । त्यसपछि सोमबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई पदबाट हटाउँदै उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

Similar Posts