फिलिपिन्सको पश्चिमी क्षेत्रमा यात्रुवाहक पानीजहाजमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी मानिस बेपत्ता भएका छन्। फिलिपिन्स कोस्ट गार्डले बेपत्ता यात्रु तथा चालक दलका सदस्यहरूको खोजीका लागि व्यापक उद्धार अभियान जारी राखेको जनाएको छ।

अधिकारीहरूका अनुसार एमभी जुन एस्टर (MV June Aster) नामक यात्रुवाहक जहाजमा बुधबार राति आगलागी भएको थियो। जहाज राजधानी मनिलाबाट पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा पलावान क्षेत्रको समुद्री क्षेत्रमा आगलागी भएको बताइएको छ। जहाजमा ११७ जना यात्रु र १७ जना चालक दलका सदस्य गरी कुल १३४ जना सवार रहेको विवरण सार्वजनिक गरिएको छ। 

फिलिपिन्सका अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेका छन्। जहाजमा सुरक्षा मापदण्ड पालना भएको थियो वा थिएन, यात्रुहरूलाई पर्याप्त जीवनरक्षक ज्याकेट उपलब्ध गराइएको थियो वा थिएन तथा जहाजमा क्षमताभन्दा बढी मानिस सवार थिए वा थिएनन् भन्ने विषयमा पनि अनुसन्धान भइरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटना पर्यटकमाझ चर्चित पलावन प्रान्तमा भएको हो। पलावान आफ्ना सुन्दर टापुहरू तथा आइल्यान्ड हपिङ, स्नोर्क्लिङ र डाइभिङका लागि प्रसिद्ध रहेको छ। अनलाइनमा सार्वजनिक भएको भिडिओमा तटरक्षकले पानीजहाज पूर्ण रूपमा आगोमा लपेटिएको र केही मानिसलाई पानीबाट उद्धार गर्दै गरेको देखिन्छ।

फिलिपिन्स कोस्ट गार्डका अनुसार हालसम्म दर्जनौं मानिसलाई समुद्रबाट उद्धार गरिएको छ। उद्धारको पछिल्लो विवरणअनुसार करिब ४२ देखि ४३ जनासम्मलाई सुरक्षित निकालिएको छ भने करिब ८७ जना अझै सम्पर्कविहीन छन्। उद्धार कार्य जारी रहेकाले मृतक, उद्धार गरिएका तथा बेपत्ता व्यक्तिको संख्या परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन्।

आगलागीपछि जहाजको ठूलो भाग आगोको चपेटामा परेको भिडियो तथा तस्बिरहरू सार्वजनिक भएका छन्। आगोबाट बच्न केही यात्रु समुद्रमा हाम फालेको आशंका गरिएको छ। कोस्ट गार्डका जहाज, स्थानीय उद्धार टोली तथा आसपासका माछा मार्ने डुंगाहरू समेत उद्धार अभियानमा परिचालन भएका छन्।

समुद्रमा फैलिएको धुवाँ, प्रतिकूल मौसम तथा तीव्र समुद्री धारका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ। आगलागीग्रस्त जहाज पनि समुद्री धारसँगै आफ्नो प्रारम्भिक स्थानबाट टाढा पुगेकाले बेपत्ता मानिसहरूको खोजी कठिन बनेको छ।

हाल फिलिपिन्स कोस्ट गार्डले बेपत्ता ८० भन्दा बढी मानिसको खोजीलाई तीव्र बनाएको छ। उद्धार अभियानबाट थप मानिसलाई जीवितै फेला पार्न सकिने आशामा समुद्रमा व्यापक खोजी जारी रहेको अधिकारीहरूले बताएका छन्।

Similar Posts