काठमाडौं : भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । नयाँ-नयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको छ । क्यान इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरूले आफ्नो ब्राण्ड प्रवर्द्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ता झुम्मिएका छन् ।
क्यान इन्फोटेक २०२५ को ब्रान्डिङ कक्षमा कम्पनीहरूलाई ब्रान्डको प्रवर्द्धन गर्न 'बीटुबी जोन' समेत बनाइएको छ । यसमार्फत कम्पनीहरूले आफ्ना डिलर तथा क्लाइन्टसँग प्रत्यक्ष अन्तर्क्रिया गरिरहेका छन् । शीर्ष प्रायोजक एचएमसी हिक्मेसीले आफ्ना उत्पादनको विशेष प्रदर्शनीसँगै उपभोक्ताका लागि आकर्षक स्किम घोषणा गरेको छ । यसअन्तर्गत वायरलेस क्यामेरामा २० प्रतिशत, हिक्सेमीका हरेक उत्पादनमा १५ प्रतिशत, मोनिटरमा २० प्रतिशत र यूपीएसमा १० प्रतिशत छुट दिइएको छ ।
त्यस्तै सहशीर्ष प्रायोजक मर्कन्टाइल कम्युनिकेसन्सले एसर ब्राण्डका पछिल्ला ल्यापटप र डेस्कटपसँगै इप्सन ब्राण्डका प्रिन्टर र प्रोजेक्टरको विशेष प्रदर्शनी गरेको छ । त्यस्तै गोल्ड स्पोन्सर गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रा. लि.ले चार्ज सकिंदा ब्याट्री नै फेर्न मिल्ने गोगोरो स्कुटरमा विशेष स्किम राखेको छ । यसअन्तर्गत ग्राहकले काठमाडौं सहरभित्र १००० किलोमिटर निःशुल्क यात्रा गर्न सक्नेछन् भने निःशुल्क टेस्ट ड्राइभका साथै लक्की ड्र अफर दिइएको छ ।