गुरु पूर्णिमा गुरुको सम्मानमा मनाइने एउटा पर्व हो। त्यस्ता गुरु आध्यात्मिक पनि हुन सक्छन् वा प्राज्ञिक। मानिसको जीवनको प्रारम्भिक कालदेखि नै गुरुहरूको महत्त्वपूर्ण भूमिका र प्रभाव हुने गर्छ। कुनै पनि व्यक्ति सफल वा असफल हुने कुरा समेत गुरुले उनलाई कस्तो शिक्षा दिन्छन् भन्नेमा निर्भर हुने ठानिन्छ । गुरु पूर्णिमा हिन्दू, बौद्ध र जैन धर्ममा अत्यन्त पवित्र पर्व हो, जुन गुरु (शिक्षक/आध्यात्मिक गुरु) प्रतिको सम्मान, श्रद्धा र आभार व्यक्त गर्न मनाइन्छ। यो पर्व आषाढ शुक्ल पूर्णिमा को दिन (अर्थात् असार महिनाको शुक्ल पक्षको पूर्णिमा) मनाइन्छ। गुरु पूर्णिमा गुरुहरूको योगदानको कदर गर्ने विशेष दिन हो। “गुरु” भन्नाले त्यस्ता व्यक्ति जनाइन्छ जसले अज्ञानताबाट ज्ञानतर्फ डोर्याउँछन्। संस्कृतमा भनिन्छ । सफल जीवनका लागि मार्गदर्शन गर्ने व्यक्तिप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने दिवस गुरु पूर्णिमा हो।
पुराण र ग्रन्थहरू अनुसार, शिष्यहरूले यस दिन आफ्नो गुरुहरूलाई आदरपूर्वक पूजा-अर्चना र आशीर्वाद लिन्छन्। गुरु पूर्णिमा त्यो दिन हो जुन हामीले हाम्रो जीवनमा ज्ञान दिने, मार्ग देखाउने, संस्कार दिने गुरुहरूको सम्मान गर्न मनाउँछौं। यो केवल धार्मिक नभई सांस्कृतिक र शैक्षिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण पर्व हो।
पौराणिक मान्यताअनुसार गुरु पूर्णिमा भनेको वेद व्यासको जन्मदिन पनि हो। कतिपय जानकारहरू उनैको सम्मानमा गुरु पूर्णिमा मनाउन थालिएको र यो दिनलाई व्यास पूर्णिमा पनि भनिने गरेको बताउँछन्। कतिपय हिन्दू शास्त्रहरूमा गुरु पूर्णिमाको दिन महर्षि वेद व्यासले चार वटै वेदको रचना गरेका हुनाले उनको नाम वेद व्यास राखिएको उल्लेख भएको बताइन्छ। प्राचीन कालदेखि नै नेपालमा गुरुको भूमिका महत्त्वपूर्ण रहेको मान्यता छ। विशेष गरी पूर्वीय सभ्यतामा गुरुलाई उच्च स्थान र सम्मान दिने चलन रहेको छ। त्यो आधुनिक कालमा पनि जारी रहेको देखिन्छ। अर्को पौराणिक मान्यता अनुसार भगवान् शिवले गुरु पूर्णिमाकै दिनबाट सप्त ऋषिलाई योग सिकाउन थालेका थिए। बौद्ध धर्म मान्नेहरूले पनि गौतम बुद्धको सम्झनामा गुरु पूर्णिमा मनाउने गर्छन्। उनीहरूका मान्यतामा गौतम बुद्धले यसै दिन आफ्नो पहिलो उपदेश दिएका थिए।
