नेपाल र चीनको मुख्य व्यापारिक नाका अवरुद्ध हुने गरी असार अन्तिमतिर आएको बाढीले बगाएको नेपाल-चीन मितेरी पुल भदौ ३० गतेभित्र बनाइसक्ने समझदारी चिनियाँ पक्षले गरेको नेपाली अधिकारीहरूले बताएका छन्। यसै साता अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा चाइना इन्टरन्याश्नल डेभलपमन्ट कोअपरेशन एजेन्सीका अध्यक्षले बाढीले क्षतिग्रस्त पुल आफ्नो तर्फबाट पुनर्निर्माण गरिदिने बाचा गरेका बताइएको थियो। भूपरिवेष्टित नेपालका लागि उत्तरी छिमेकी राष्ट्र चीनसँग हुने ७० प्रतिशत व्यापार यही नाका मार्फत् हुने गरेको छ। भौतिक योजना तथा निर्माण मन्त्रालय र काठमाण्डूस्थित चिनियाँ राजदूतावासबीच भएको समझदारीमा चीन सरकारले आफ्नै लगानीमा बेलिब्रिज बनाएर अबको तीन साताभित्र नाका खुलाउने प्रतिबद्धता जनाएको हो। तिब्बतबाट बगेर आउने ल्हेन्देखोलामा अकस्मात् आएको बाढीले दुई देश जोड्ने पुल बगाउँदा २०० जना भन्दा धेरै नेपाली सवारी चालकहरू र ५०० ट्रक सामान चीनतर्फ अड्किएका थिए। केरुङमा रोकिएका नेपाली चालकहरू दुई सातापछि त्यहाँबाट लिपिङ हुँदै तातोपानी नाकाबाट बुधवार नेपाल आइपुगेका छन्। केरुङको गोदाममा रोकिएका आफूहरूका सामग्री रसुवागढीमा बेलिब्रिज सञ्चालनमा आएपछि मात्रै नेपाल भित्र्याउने योजनामा आफूहरू रहेको नेपाली व्यवसायीले बताएका छन्।
