जेन जी युवा पुस्ताले गरेको आन्दोलन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट ‍राजीनामा दिएका छन्।

उनको सचिवालयले ओलीद्वारा राष्ट्रपतिलाई पठाएको राजीनामा सार्वजनिक गरेको छ। ओली गत वर्ष असारमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। जेन जी प्रदर्शनमा भएको अत्यधिक बल प्रयोग र एकैदिनमा ठूलो सङ्ख्यामा मानिसहरू मारिएपछि सत्ता साझेदार कांग्रेसका नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए। कैयौँ मन्त्रीहरूले सरकार छोडे लगत्तै प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन्। जेन जी प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र नागरिक सरकारको माग गरेका छन्। सरकारका नेतृत्व गरिरहेका ओलीले राजीनामा दिनुपर्ने भन्दै नेपालका केही समाचारपत्रले विशेष सम्पादकीय छापेका थिए। स्वतःस्फूर्त रूपमा भएको युवा पुस्ताको आन्दोलनमा व्यापक बल प्रयोग हुँदा हालसम्म २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। “संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,” प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई लेखेको राजीनामा पत्रमा भनिएको छ।

केपी ओली राजीनामा
Similar Posts