देशमा पछिल्लो समय आन्दोलन र अस्थिरताका कारण आम जीवन प्रभावित भइरहेका बेला पनि वातावरण र समाजप्रतिको उत्तरदायित्वप्रति जागरूकता देखाउँदै टोखा नगरपालिकाले बिष्णुमति खोला सरसफाई अभियानलाई निरन्तरता दिइरहेको छ। यही क्रममा शनिबार बिहान उक्त अभियान ६८औं हप्ता प्रवेश गरी सफलतापूर्वक सम्पन्न भएको छ।
शनिबार बिहान आयोजित कार्यक्रममा नगर प्रमुख, उप–प्रमुख, वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रह्यो। अभियानमा सहभागी स्वयंसेवक तथा स्थानीय बासिन्दाले आफ्नो अमूल्य समय खर्ची खोलाको फोहोर सफा गरे।
उक्त अवसरमा विष्णुमति खोलाको सौन्दर्य र अस्तित्व जोगाउन निरन्तर सरसफाई अभियान अपरिहार्य रहेको बताए। उनले हालको विषम परिस्थिति र आन्दोलनका बाबजुद स्थानीयवासीले देखाएको सहभागिता वातावरणप्रतिको उच्च प्रतिबद्धताको उदाहरण भएको उल्लेख गरे। यसैगरी अन्य वक्ताहरूले पनि सरसफाई अभियानलाई केवल सफा–सुन्दर वातावरण निर्माण गर्ने कार्य मात्र नभई सामुदायिक एकता, सहकार्य र सामाजिक चेतना जगाउने अभियानका रूपमा विकास भएको बताए।
६८औं हप्तासम्म आइपुग्दा टोखा बिष्णुमति खोला सरसफाई अभियानले स्थानीयहरूमा सरसफाई र वातावरण संरक्षणप्रति निरन्तर सचेतना जगाइरहेको छ। उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ व्यापक सहभागिता रहने विश्वास समेत व्यक्त गरिएको छ।
