जेनजी प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनसँगैको राष्ट्रिय वाणिज्य ब्याङ्कबाट ३८ करोड रुपैयाँभन्दा बढीको नगद र गरगहना लुटपाट भएको ब्याङ्कका अधिकारी र प्रहरीले बताएका छन्। जसमध्ये हालसम्म ३२ लाख बराबरको सम्पत्ति मात्रै बरामद भएको प्रहरीले जनाएको छ। ब्याङ्कबाट कर्जा लिनेहरूले धरौटी स्वरूप राखेका सुनका गरगहना भदौ २४ को प्रदर्शनका क्रममा लुटिएको थियो। सुरक्षित कोठाभित्र राखिएको भल्ट फोडेर करिब १८ किलो सुनका गरगहना चोरी भएको उजुरी प्रहरी, अर्थ मन्त्रालय र राष्ट्र ब्याङ्कलाई दिइएको ब्याङ्कका अधिकारीले बताएका छन्। चोरिएको सुनमध्ये करिब ७०० ग्राम मात्रै हालसम्म बरामद भएको अधिकारीहरूले बताएका छन्। बाँकी सुन भेटिएन भने ब्याङ्कमा धरौटी राखेका व्यक्तिहरूले आफ्नो सम्पत्ति फिर्ता पाउँछन् कि पाउँदैनन्? राष्ट्रिय वाणिज्य ब्याङ्कका प्रमुख कार्यकारी निर्देशक देवेन्द्ररमण खनाल ग्राहकले जमानतमा राखेको गरगहना बापतको क्षतिपूर्ति दिने तयारी भइरहेको बताउँछन्। “ग्राहकहरूले ल्याएर राख्नुभएको सुन चोरी भएको छ। हामी एउटा निर्णय गरेर उहाँहरूलाई सुन नै दिन नसके पनि त्यस बराबरको नगद दिन्छौँ। त्यसका लागि एउटा समिति पनि बनेको छ,” खनालले बीबीसी न्यूज नेपालीसँग भने। “सबभन्दा चाहिँ महत्त्वपूर्ण कुरा चाहिँ गहनासँग आफ्नो एउटा भावनात्मक सम्बन्ध पनि जोडिएको हुन्छ। त्यही गहना चाहिँ हामीले फिर्ता गर्न सकेनौँ।”
