काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक तनाव थप चर्किँदै जाँदा सभापति शेरबहादुर देउवा समूहले पार्टीको जारी निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै केन्द्रीय निर्वाचन आयोगमा औपचारिक रूपमा निवेदन दिएको छ। पार्टीभित्र सहमति नजुट्दै एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अगाडि बढाइएको आरोप लगाउँदै देउवा समूह आयोग पुगेको हो। निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोलीलाई आयोग पठाइएको देउवा समूहका एक नेताले बताएको छ।

देउवा समूहका नेताहरूले वर्तमान अवस्थामा पार्टीभित्र संवाद र सहमतिका प्रयासहरू जारी रहेको भन्दै निर्वाचन कार्यतालिका यथावत् राख्दा पार्टी अझै विभाजनको दिशातर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्। उनीहरूले निर्वाचन प्रक्रिया केही समयका लागि रोकिएर आन्तरिक एकता र समझदारी कायम गर्नुपर्नेमा जोड दिएका छन्।

आयोगमा बुझाइएको ज्ञापनपत्रमा देउवा समूहले पार्टी विधानअनुसार सबै पक्षलाई स्वीकार्य हुने वातावरण निर्माण नगरी निर्वाचन गरिनु न्यायोचित नहुने उल्लेख गरेको छ। “पार्टीको दीर्घकालीन हितका लागि सहमतिमा आधारित निर्वाचन आवश्यक छ,” ज्ञापनपत्रमा भनिएको छ, “त्यसका लागि हालको कार्यतालिका स्थगन अपरिहार्य छ।”माघ ६ गतेलाई निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मदवारी दर्ता गर्ने मिति तोकेको छ । तर, कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई आयोगले मान्यता दिएपछि देउवा समूह त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको छ । रिटको पेसी माघ ६ गतेलाई तोकिएको छ ।

Similar Posts