काठमाडौं : माघ ७ गते, बुधवार नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । सुनको मूल्य प्रतितोला १० हजार ४०० रुपैयाँले र चाँदी तोलामा ४० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।
अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ उच्च दरले बढेसँगै नेपालमा प्रभाव परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेको छ।
चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ९२० रुपैयाँ पुगेको छ ।
