लहान बजारमा पनि कर्फ्यु

 सुनसरीको कप्तानगञ्ज घटनापछि पूर्वी तराईका विभिन्न क्षेत्रमा बढ्दो तनावका बीच जिल्ला प्रशासन कार्यालय सिरहाले लहान बजारका संवेदनशील क्षेत्रमा बिहीबार अपराह्नदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रदर्शन नियन्त्रणका क्रममा केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको तथा भीड नियन्त्रण गर्न सुरक्षाकर्मीले हवाई फायरसमेत गरेको जनाइएको छ। त्यसपछि थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा निगरानी कडा पारेका छन्।

प्रशासनका अनुसार प्रदर्शनका क्रममा स्थिति तनावपूर्ण बन्दै गएपछि शान्ति–सुरक्षा कायम राख्न स्थानीय प्रशासनले कर्फ्यु लागू गर्ने निर्णय गरेको हो। आदेश बिहीबार अपराह्न ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रभावकारी रहने जनाइएको छ।

कर्फ्यु लागू गरिएका क्षेत्रमा कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन, सभा–जुलुस गर्न, प्रदर्शन, नाराबाजी तथा समूहमा भेला हुन प्रतिबन्ध लगाइएको छ। आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार कर्फ्युको दायरा लहान नगरपालिकाको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ बाटिका होटल पश्चिमस्थित सरस्वती खोलासम्म तथा दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्ग आसपासका क्षेत्रसम्म तोकिएको छ।

सुनसरीमा सुरु भएको तनाव सिरहासम्म फैलिन थालेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको जनाएको छ। सुरक्षा अवस्थाको निरन्तर समीक्षा भइरहेको र परिस्थितिअनुसार थप निर्णय गरिने प्रशासनको भनाइ छ। प्रशासनले नागरिकलाई अफवाहमा विश्वास नगर्न, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ।

Similar Posts