काठमाडौं :  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेका आधा दर्जनभन्दा बढी खाद्य उत्पादनलाई गुणस्तरहीन र मानव स्वास्थ्यका लागि जोखिमपूर्ण ठहर गर्दै तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। विभागको लगातार अनुगमन र प्रयोगशाला परीक्षणपछि विभिन्न चर्चित ब्राण्डका उत्पादनमा गुणस्तर मापदण्ड विपरीत अवस्था भेटिएपछि यस्तो कदम चालिएको हो।

सरकारले पोखरा औद्योगिक क्षेत्रमा उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य ठहर गर्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त आइसक्रिममा हानिकारक ब्याक्टेरिया, कोलिफर्म र इन्टेरोब्याक्टेरिएसी जीवाणु भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश दिइएको हो। उपभोक्तालाई उक्त ब्याचको आइसक्रिम नखान आग्रह गरिएको छ।

त्यसैगरी  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना परीक्षणपछि ‘करेन्ट’ ब्राण्डको चाउचाउ मापदण्ड विपरीत भेटिएको भन्दै तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो। ‘करेन्ट’ ब्राण्डको चाउचाउ पनि गुणस्तर परीक्षणमा असफल भएपछि विभागको कारबाहीमा परेको छ। प्रयोगशाला परीक्षणमा अनिवार्य मापदण्ड नपुगेपछि यसको बिक्री–वितरण रोक्दै बजारबाट फिर्ता गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

विभागका अधिकारीहरूका अनुसार हाल खाद्य बजारमा अनुगमन तीव्र बनाइएको छ। दूधजन्य पदार्थ, तयारी खानेकुरा, पेय पदार्थ, स्न्याक्स र प्याकेटबन्द खाद्य वस्तुको नमुना नियमित परीक्षण भइरहेको छ। गुणस्तरहीन उत्पादन गर्ने उद्योगलाई जरिवाना, उत्पादन नष्ट गर्ने तथा लाइसेन्ससमेत खारेज गर्न सकिने चेतावनी दिइएको छ।

खाद्य विज्ञहरू भन्छन्— उपभोक्ताले कुनै पनि प्याकेटबन्द खाद्य वस्तु किन्दा उत्पादन मिति, ब्याच नम्बर, म्याद सकिने मिति र लेबल अनिवार्य हेर्नुपर्छ। सस्तो भन्दै जथाभावी खाद्य वस्तु खरिद गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने उनीहरूको चेतावनी छ।

सरकारले पनि उपभोक्तालाई सचेत रहन आग्रह गर्दै शंका लागेका खाद्य वस्तुबारे तत्काल विभागमा उजुरी गर्न अपिल गरेको छ। पछिल्ला घटनाले बजारमा अझै पनि गुणस्तरहीन खाद्य वस्तु खुलेआम बिक्री भइरहेको देखाएको भन्दै उपभोक्ता अधिकारकर्मीहरूले अनुगमन थप कडा बनाउन माग गरेका छन्।

Similar Posts