टोखा नगरपालिका को ऐतिहासिक अभियानप्रति सर्वत्र प्रशंसा

काठमाडौं । टोखा नगरपालिका द्वारा सञ्चालन हुँदै आएको बिष्णुमति नदी सरसफाई अभियानले ऐतिहासिक १०० औँ हप्ता सफलतापूर्वक पूरा गरेको छ । निरन्तरता, प्रतिबद्धता र सामूहिक सहभागिताको उत्कृष्ट उदाहरणका रूपमा स्थापित यो अभियानलाई स्थानीयवासीले “गौरवको विषय” र “महान अभियान” का रूपमा लिएका छन् ।

वातावरण संरक्षण, नदी स्वच्छता तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको यो अभियानले सयौँ हप्ता पार गर्नु आफैंमा महत्वपूर्ण उपलब्धि मानिएको छ । प्रत्येक शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको सरसफाई कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, नगर प्रहरी, सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।

टोखा नगरपालिकाले वातावरणीय संरक्षणलाई प्राथमिकतामा राख्दै बिष्णुमति नदी सफा र स्वच्छ बनाउने अभियानलाई निरन्तर अघि बढाएको छ । अभियानको सुरुवाती चरणदेखि नै नगरवासी, युवाहरू, सामाजिक संघसंस्था तथा विभिन्न निकायको सक्रिय सहयोगले अभियान थप प्रभावकारी बनेको नगरपालिकाले जनाएको छ ।

स्थानीयवासीका अनुसार विगतमा फोहोर र प्रदूषणले प्रभावित बिष्णुमति नदी अहिले क्रमशः सफा बन्दै गएको छ । यसले नदी आसपासको वातावरण सुधार हुनुका साथै स्थानीयमा सकारात्मक सन्देश प्रवाह गरेको छ । नियमित सरसफाई र जनसहभागिताले वातावरणप्रति जिम्मेवार बन्न प्रेरित गरेको सहभागीहरूको भनाइ छ ।

यस अभियानलाई सफल बनाउन नगरप्रमुखको नेतृत्व, उपप्रमुखको सक्रियता तथा प्रमुख प्रशासकीय अधिकृतको समन्वयात्मक भूमिकाले महत्वपूर्ण योगदान पुर्‍याएको बताइएको छ । साथै सम्पूर्ण वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूले प्रत्येक हप्तामा प्रत्यक्ष सहभागिता जनाउँदै अभियानलाई निरन्तरता दिएका छन् । नगर प्रहरी र सुरक्षाकर्मीहरूको व्यवस्थापन तथा सुरक्षा सहयोग पनि अभियानको सफलताको महत्वपूर्ण आधार बनेको छ ।

अभियानको अर्को महत्वपूर्ण पक्ष भनेको सञ्चार माध्यमको भूमिका पनि हो । पहिलो हप्तादेखि १०० औँ हप्तासम्म अभियानका गतिविधिहरूलाई निरन्तर समाचारमार्फत जनसमक्ष पुर्‍याउँदै आएका दिपक न्यौपाने विशेष धन्यवादका पात्र बनेका छन् । उहाँसँगै द पावर न्युज परिवारले अभियानको प्रचार–प्रसार र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान दिएको सहभागीहरूले बताएका छन् ।

सरसफाई अभियानमा सहभागी स्थानीयवासीहरूले वातावरण संरक्षण कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व भएको बताएका छन् । उनीहरूका अनुसार बिष्णुमति नदी सफा राख्न नियमित सरसफाईसँगै फोहोर व्यवस्थापन र जनचेतना अभिवृद्धिमा अझ जोड दिन आवश्यक छ ।

१०० औँ हप्ता पूरा हुनु केवल संख्यात्मक उपलब्धि मात्र नभई सामूहिक एकता, अनुशासन र सकारात्मक सोचको परिणाम भएको नगरपालिकाको भनाइ छ । यस अभियानले अन्य स्थानीय तहलाई समेत प्रेरणा दिएको बताइएको छ ।

कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले आगामी दिनमा पनि अभियानलाई अझ प्रभावकारी र व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले बिष्णुमति नदीलाई स्वच्छ, सफा र वातावरणमैत्री बनाउने लक्ष्यका साथ निरन्तर अभियान सञ्चालन गरिने बताएका छन् ।

टोखा नगरपालिकाको यो अभियानले वातावरण संरक्षण, सामाजिक एकता तथा जनसहभागिताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । सबै पक्षको उत्साहपूर्ण सहभागिता, सहयोग र निरन्तरताका कारण नै बिष्णुमति नदी सरसफाई अभियानले ऐतिहासिक १०० औँ हप्ता सफलतापूर्वक पूरा गर्न सकेको हो ।

Similar Posts