काठमाडौं, साउन २१ — युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रुसले गरेको भीषण मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ४४ भन्दा बढी घाइते भएका छन्। उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रातभर गरिएको आक्रमणमा ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल र दर्जनौँ ड्रोन प्रयोग गरिएको थियो। आक्रमणका कारण किएभका विभिन्न क्षेत्रमा आगलागी भएको, गोदाम, व्यापारिक केन्द्र, रेल पूर्वाधार तथा अन्य नागरिक संरचनामा ठूलो क्षति पुगेको जनाइएको छ। युक्रेनी आपत्कालीन सेवाका उद्धार टोलीहरूले भग्नावशेष हटाउँदै जीवित व्यक्तिको खोजी गरिरहेका छन्। धेरै भवन क्षतिग्रस्त भएकाले केही मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ।

रुसको रक्षा मन्त्रालयले भने आक्रमण सैन्य रसद तथा रणनीतिक पूर्वाधारलाई लक्षित गरिएको दाबी गरेको छ। तर युक्रेनले आक्रमणमा मुख्यतः नागरिक पूर्वाधार प्रभावित भएको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेको छ। सन् २०२२ मा युद्ध सुरु भएयता किएभमाथि भएका ठूला हवाई आक्रमणमध्ये पछिल्लो आक्रमणलाई सबैभन्दा विनाशकारीमध्ये एक मानिएको छ। पछिल्ला साताहरूमा रुसले युक्रेनका विभिन्न सहरहरूमा मिसाइल र ड्रोन आक्रमण तीव्र बनाएको छ भने युक्रेनले पनि रुसभित्रका रणनीतिक पूर्वाधारमा प्रतिआक्रमण जारी राखेको छ।

Similar Posts