काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ। उहाँले अमेरिका, इरान र ओमानबीच जलघाँटी पुनः सञ्चालनका विषयमा भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताउँदै एक–दुई दिनभित्रै सम्झौता हुन सक्ने विश्वास व्यक्त गर्नुभएको हो।
क्यालिफोर्निया भ्रमणका क्रममा फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले हर्मुज जलघाँटी “धेरै चाँडै” खुल्ने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले जलघाँटी पुनः सञ्चालन नभए इरानले ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिँदै अन्ततः जलमार्ग खुल्नेमा आफू विश्वस्त रहेको बताउनुभयो।
ट्रम्पको यो अभिव्यक्ति अमेरिका, इरान र ओमानबीच हर्मुज जलघाँटी पुनः सञ्चालनका लागि अन्तरिम सम्झौता अन्तिम चरणमा पुगेको र अमेरिकाले बुधबार त्यसको औपचारिक घोषणा गर्न सक्ने समाचार सार्वजनिक भएपछि आएको हो।
उहाँले अमेरिका र इरानबीचको वार्ता रचनात्मक रहेको उल्लेख गर्दै दुवै पक्ष द्वन्द्व अन्त्यका लागि साझा समाधान खोज्ने प्रयासमा रहेको बताउनुभयो। “कार्य नै सबैभन्दा महत्त्वपूर्ण हो। उनीहरू सम्झौता गर्न चाहन्छन्, अब के हुन्छ हेर्दै जाऔँ,” ट्रम्पले भन्नुभयो। उहाँले कूटनीतिक प्रयासलाई सफल बनाउन पर्याप्त समय रहेको पनि उल्लेख गर्नुभयो।
क्यालिफोर्नियाबाट लास भेगासतर्फ प्रस्थान गर्नुअघि एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सम्झौता “भोलि वा पर्सिसम्म” हुन सक्ने विश्वास दोहोर्याउनुभयो।
एक्सियोसका अनुसार प्रस्तावित अन्तरिम व्यवस्थाअन्तर्गत इरान र ओमानबीच हर्मुज जलघाँटीमा ६० दिनका लागि सुरक्षित समुद्री आवागमन सुनिश्चित गरिनेछ। यस अवधिमा कुनै पनि जहाजबाट टोल वा पारवहन शुल्क नलिने व्यवस्था गरिनेछ। आवश्यक परे उक्त सम्झौताको अवधि थप विस्तार गर्न सकिने पनि जनाइएको छ।
सम्झौताअनुसार खाडीतर्फ प्रवेश गर्ने जहाजहरूले इरानी जलक्षेत्रको उत्तरी समुद्री मार्ग प्रयोग गर्नेछन् भने बाहिरिने जहाजहरूले ओमानको क्षेत्रीय जलक्षेत्र हुँदै दक्षिणी मार्गबाट आवागमन गर्ने व्यवस्था रहनेछ।
विश्वव्यापी कच्चा तेल तथा प्राकृतिक ग्यास आपूर्तिको अत्यन्त महत्वपूर्ण समुद्री मार्गका रूपमा रहेको हर्मुज जलघाँटीमा देखिएको पछिल्लो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार, विश्व व्यापार तथा क्षेत्रीय सुरक्षामा असर पर्ने चिन्ता बढिरहेको छ। यस्तो अवस्थामा सम्भावित सम्झौतालाई विश्व समुदायले चासोका साथ हेरिरहेको छ।
