काठमाडौं : बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय मौसमी प्रणालीका कारण आगामी असोज ८ गतेदेखि नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने सम्भावना देखिएको छ। मौसमविद्हरूले असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने प्रारम्भिक आकलन गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

मौसमविद्हरूका अनुसार बंगालको खाडीमा विकास भइरहेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने देखिएको हो। विशेषगरी असोज ९ र १० गते अर्थात् शुक्रबार र शनिबार भारी वर्षाको जोखिम बढी देखिएको छ। पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मै वर्षाको सम्भावना देखिए पनि लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना तीनवटै मौसम मोडलले देखाएका छन्। विभिन्न मोडलले चारदेखि पाँच दिनमा ५०० मिलिमिटरसम्म वर्षा हुनसक्ने प्रक्षेपण गरेका छन्लामो समयसम्म भारी वर्षा भए बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बंगालको खाडी तथा अण्डमान सागर आसपास न्यूनचापीय क्षेत्र विकास भइरहेको छ। उक्त प्रणाली क्रमशः बलियो बन्दै उत्तर–पश्चिमतर्फ अघि बढिरहेको र यसको प्रभाव नेपालमा समेत पर्न सक्ने देखिएको छ।

मौसमविद्हरूका अनुसार असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा वर्षाको मात्रा बढ्न सक्नेछ। केही पूर्वानुमान मोडलले अत्यधिक वर्षाको सम्भावना देखाएका छन्। तर यस्तो वर्षा देशभर समान रूपमा हुने नभई निश्चित स्थानमा बढी केन्द्रित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वतयारी आवश्यक रहेको बताइएको छ।

विशेषगरी कोशी, मधेस र बागमती प्रदेशका केही क्षेत्रमा वर्षाको प्रभाव बढी देखिन सक्ने प्रारम्भिक संकेत रहेको छ। वर्षाको सम्भावित प्रभावका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा तराईका केही भूभागमा डुबानको जोखिम बढ्न सक्ने भएकाले स्थानीय तह र सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

मौसमविद्हरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रा गर्दा सावधानी अपनाउन, नदी तथा खोलाको आसपास नजान र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन सुझाव दिएका छन्। किसानलाई पनि बालीनाली सुरक्षित राख्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायलाई आवश्यक उद्धार तथा राहतको पूर्वतयारी गर्न आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले मौसमसम्बन्धी पछिल्ला आधिकारिक सूचना र चेतावनीलाई आधार बनाउन आग्रह गरेको छ। विभागको वेबसाइट तथा आधिकारिक बुलेटिनमार्फत मौसम र बाढीसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक हुँदै आएको छ।

जल तथा मौसम विज्ञान विभागले पनि प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ। वर्षाको मात्रा र प्रभावित क्षेत्रबारे भने मौसम नजिकिँदै जाँदा थप स्पष्ट जानकारी आउनेछ।

Similar Posts