इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अमेरिकालाई कडा चेतावनी दिँदै इरानमाथि कुनै पनि प्रकारको सैन्य हमला भए मध्यपूर्व क्षेत्रमा ठूलो द्वन्द्व फैलिने बताएका छन्। उनले अमेरिकाको सम्भावित हस्तक्षेपले केवल इरान मात्र होइन, सम्पूर्ण क्षेत्र अस्थिर हुने दाबी गरेका छन्। पारमाणविक कार्यक्रम तथा सरकारविरोधी प्रदर्शनकारीमाथि गरिएका दमनलाई लिएर इरानमाथि हस्तक्षेप गर्न सक्ने ट्रम्पले चेतावनी दिँदै आएका छन्।

इरानी विदेशमन्त्री अरागचीले भनेः “दुर्भाग्यवश वार्ता गर्ने साझेदारका रूपमा अमेरिकामाथि हामीले विश्वास गुमाइसकेका छौँ। तर मित्रवत् राष्ट्रहरूमार्फत्‌ भइरहेका सन्देश आदानप्रदानले वाशिङ्गटनसँग “नतिजामुखी” वार्ताहरूका लागि समन्वय गरिरहेका छन्।”यसअघि इरानका उच्च सुरक्षा अधिकारी अली लारिजानीले वार्ताका एउटा ढाँचामा प्रगति भइरहेको बताएका थिए।

राज्य टेलिभिजनमार्फत प्रसारित सम्बोधनमा खामेनीले इरान आफ्नो सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको उल्लेख गरे। “इरानमाथि आक्रमण गर्ने कुनै पनि प्रयासको कडा र निर्णायक जवाफ दिइनेछ,” उनले भने, “यसको असर क्षेत्रीय सीमाभन्दा बाहिरसम्म पुग्न सक्छ।”

हाल गाजा युद्ध, लाल सागरमा बढ्दो तनाव र इरान समर्थित समूहहरूमाथि भइरहेको आक्रमणका कारण अमेरिका–इरान सम्बन्ध थप तनावपूर्ण बनेको छ। यस्ता परिस्थितिमा अमेरिकाले इरानविरुद्ध प्रत्यक्ष कारबाही गरे स्थिति नियन्त्रणबाहिर जान सक्ने खामेनीको चेतावनी छ। इरानले आफू आक्रमण चाहँदैन तर दबाब र धम्कीको भाषामा संवाद अस्वीकार्य हुने पनि स्पष्ट पारेको छ। खामेनीले क्षेत्रीय देशहरूलाई विदेशी शक्तिको रणनीतिमा नफस्न आग्रह गर्दै शान्ति र स्थायित्वका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताए।

अमेरिकाले भने इरानले क्षेत्रीय मिलिसियालाई समर्थन गरेर अस्थिरता बढाइरहेको आरोप लगाउँदै आएको छ। तर विश्लेषकहरूका अनुसार दुवै पक्षबीच प्रत्यक्ष सैन्य टकराव भए त्यसको असर तेल आपूर्ति, विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर पर्नेछ।

यस चेतावनीपछि मध्यपूर्वको सुरक्षा अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायको चासो झनै बढेको छ भने कूटनीतिक पहलमार्फत तनाव कम गर्ने प्रयास आवश्यक देखिएको छ।

Similar Posts