काठमाडौं । टोखा नगरपालिकामा “व्यक्तिगत घटना दर्ता सप्ताह २०८३” औपचारिक रूपमा सुरु गरिएको छ। नगरपालिकाले सबै नागरिकलाई जन्म, मृत्यु, विवाह, बसाइँसराइ तथा सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटनाहरू समयमै दर्ता गर्न आग्रह गरेको छ।
नगरपालिकाका अनुसार यस सप्ताहको मुख्य उद्देश्य प्रत्येक नागरिकको कानुनी पहिचान सुनिश्चित गर्नुका साथै अभिलेख प्रणालीलाई व्यवस्थित बनाउनु हो। अभियानअन्तर्गत वडा कार्यालयहरूले घरदैलो कार्यक्रम, जनचेतनामूलक गतिविधि तथा सहज सेवा प्रदान गर्दै दर्ता प्रक्रियालाई प्रभावकारी बनाउने जनाइएको छ।
टोखा नगरपालिकाले विशेषगरी समयमै घटना दर्ता नगर्ने प्रवृत्तिलाई अन्त्य गर्न यस अभियानलाई तीव्र बनाएको जनाएको छ। घटना दर्ता नगर्दा नागरिकले सामाजिक सुरक्षा भत्ता, शिक्षा, स्वास्थ्य तथा अन्य सरकारी सेवामा पहुँच पाउन कठिनाइ हुने भएकाले समयमै दर्ता गर्न सबैलाई अनुरोध गरिएको छ।
अभियान अवधिभर सबै वडाहरूमा निःशुल्क तथा छिटो सेवा उपलब्ध गराइनेछ। साथै, विद्यालय, स्वास्थ्य संस्था र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी नागरिकको सहभागिता बढाउने लक्ष्य राखिएको छ।
नगरपालिकाले “सबैको पहिचान, सबैको अधिकार” भन्ने नारासहित सञ्चालन गरिएको यस अभियानले दर्ता प्रणालीलाई थप प्रभावकारी र भरपर्दो बनाउने विश्वास व्यक्त गरेको छ।
