टोखा नगरपालिकाले विगत १०० हप्ता सफलतापूर्वक सञ्चालन गरेको विष्णुमती नदी सरसफाइ अभियानलाई १०१औँ हप्तामा पनि निरन्तरता दिँदै वडा नं. १ क्षेत्रमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। नियमित रूपमा सञ्चालन हुँदै आएको यो अभियानले वातावरण संरक्षण, नदी सफाइ तथा नागरिकमा स्वच्छताको चेतना अभिवृद्धि गर्ने उद्देश्यलाई निरन्तर अगाडि बढाइरहेको छ।
१०१औँ हप्ताको सरसफाइ यात्रा श्री बौडेश्वर विद्यालय परिसरबाट सुरु भई बौडेश्वर स्कुल हुँदै सानुभाइ चोकसम्म पुगेको थियो। त्यसपछि टोलीले तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको सिमाना क्षेत्रसम्म सरसफाइ गर्दै सडक तथा सार्वज

निक स्थलमा रहेका फोहोर व्यवस्थापन गरेको थियो। सरसफाइ अभियानमा सहभागीहरूले प्लास्टिकजन्य फोहोर, घरेलु फोहोर तथा अन्य अव्यवस्थित सामग्री संकलन गरी वातावरण सफा बनाउन सक्रिय भूमिका निर्वाह गरेका थिए। त्यसपश्चात् टोली पुनः सानुभाइ चोक हुँदै जोगीको कुटी र चिल्डेन पार्क क्षेत्रसम्म सरसफाइ गर्दै अघि बढेको थियो। सम्पूर्ण मार्गमा सडक किनार, सार्वजनिक स्थल तथा नदी आसपासका क्षेत्रमा विशेष सरसफाइ गरिएको थियो। अन्त्यमा कार्यक्रम पुनः श्री बौडेश्वर विद्यालय अगाडि आएर औपचारिक रूपमा समापन गरिएको थियो।

टोखा नगरपालिकाले १०० हप्ताको ऐतिहासिक यात्रा पूरा गरेपछि पनि अभियानलाई निरन्तरता दिँदै “स्वच्छ टोखा, हरित टोखा” को लक्ष्यलाई व्यवहारमा उतार्ने प्रयास गरिरहेको जनाएको छ। नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी, विभिन्न सामाजिक संघसंस्था तथा स्वयंसेवकहरूको सक्रिय सहभागिताले अभियानलाई थप प्रभावकारी बनाएको देखिएको छ। कार्यक्रममा सहभागीहरूले विष्णुमती नदी र आसपासका क्षेत्रको संरक्षण केवल सरकारी निकायको जिम्मेवारी मात्र नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै नियमित सरसफाइ, फोहोरको उचित व्यवस्थापन र वातावरणमैत्री व्यवहार अपनाउन सबैलाई आग्रह गरेका थिए। निरन्तर १०१ हप्तासम्म अविच्छिन्न रूपमा सञ्चालन भएको यो अभियानले टोखा नगरपालिकामा वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सामुदायिक सहभागितामार्फत दिगो सरसफाइ संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याएको स्थानीयवासीले बताएका छन्। आगामी दिनमा पनि यस्ता अभियानलाई अझ व्यापक बनाउँदै विष्णुमती नदीलाई स्वच्छ, सुन्दर र जीवन्त बनाउने लक्ष्यका साथ नगरपालिकाले आफ्नो प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
