जेनजी मुभमेन्टले उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । घिसिङ समेतको संलग्नतामा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको भन्दै  जेनजी मुभमेन्टले बर्खास्तीको माग गरिएको हो । प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन शुरू गर्न जेन्जी मुभमेन्टले सरकारसँग माग गरेको छ । मन्त्री घिसिङ र प्राधिकरणका कार्यकारी निर्देशक सिलवालको मिलेमतोमा प्राधिकरणलाई झण्डै ४३ करोड नोक्सान पुर्‍याउने गरी भारतीय कम्पनीसँग सम्झौता गरेको सार्वजनिक भएपछि जेन्जी मुभमेन्टले कारबाहीको माग गरेको हो । मुभमेन्टले यो सम्झौतालाई ‘राष्ट्रघाती’ भन्दै त्यसमा संलग्नविरुद्ध कडा कारबाहीको माग गरेको छ।

उक्त सम्झौता विद्युत् नियमन आयोगको स्वीकृतिविना गरिएको तथ्य प्रष्ट भइसकेको र यसले नेपालको आर्थिक स्वाधीनता र सार्वजनिक स्वार्थमाथि गम्भीर प्रहार गरेको मुभमेन्टको टिप्पणी छ।आफ्ना मागहरु राख्दै जेनजी मुभमेन्टले भनेको छ–‘ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ । प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्वन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ । विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।’

जेनजी मुभमेन्टले राष्ट्रघाती सम्झौतामा संलग्नहरूलाई जेल हाल्न र राज्यका सम्पत्ति फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त शुरु गर्न समेत माग गरेको छ ।

Similar Posts